व्यवसायिक बन्दै नेपाली चित्रकला
रामचन्द्र महर्जन
चैत्र २९, काठमाडौं
राजधानीको थापाथलीस्थित ब्लुबर्डमा रहेको मुड्स स्टुडियो लन्जमा शूरु भएको एक महिने चित्रकला प्रदर्शनीमा लहरालाई जीवनको आधार प्रस्तुत गरि तयार पारिएका आफ्ना चित्रकला बारे जानकारी दिईरहेकी चित्रकार अनिसा महर्जनको मुहारमा छुट्टै रौनक देखिन्थ्यो । आफुले गरेका श्रृजनालाई सार्वजनिक गर्दाको त्यो क्षण आफ्नो व्यवसायिक जीवनलाई लिएरपनि उनमा उत्साह देखिनु स्वाभाविक थियो ।
कुनै समय चित्रकलामा लागेकाहरुको जीवन निकै कष्टकर हुने गथ्र्याे । तर अहिले समय फेरिएको छ, आफु भित्र रहेको कला र सीप विस्तारै आफ्नो मात्र होइन सिंगो परिवारकै जिविकोपार्जनका लागि महत्वपूर्ण पेशा समेत बन्दै गईरहेको छ । यद्यपी चित्रकलामा आफ्नै संस्कृति, परम्परा र मौलिक शैलीलाई जोड दिन सके यसको थप विकास र विस्तार हुन सक्ने आवाज समेत उठ्न थालेका छन् ।
पछिल्लो समय चित्रकला प्रदर्शनी हुने क्रम बढ्दो छ । कलासम्वन्धी विभिन्न संघ संस्थाको सक्रियतासंगै राजधानीमा संचालित विभिन्न आधा दर्जन आर्ट ग्यालेरीमा चित्रकला प्रदर्शनी हुने क्रम बढेको हो । बरमहलस्थित आर्ट काउन्सिलले मात्र वर्षमा करिव ५० वटा प्रदर्शनी गर्दै आएको छ । यही कारण आर्थीक रुपमा पनि अहिले कलाकारको अवस्थामा सुधार आएको छ । चित्रकार अजय देसारका अनुसार, विगतको तुलनामा अहिले चित्रकला क्षेत्र विकास हुदैछ । ‘विगतको भन्दा कला क्षेत्रमा भएको विकासले राम्रो जिविकोपार्जन गर्न सकिने अवस्था छ ।’ उनी भन्छन्– ‘पहिले पहिले विदेशीलाई मात्र टार्गेट गरेर चित्र कोरिन्थ्यो तर अहिले नेपालीलाई पनि टार्गेट गरेर पेन्टिङ क्रम बढ्न थालेको छ ।’
पछिल्लो समय चित्रकलासहितका कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले यसको केही विकास भएको देखिएपनि जति हुनुपर्ने हो त्यति नभएको गुनासो सुनिने गर्दछ । कलामा गुणात्मक विकास नभएको स्वयं सरोकारवाला स्विकार गर्छन । कलाकारका श्रृजना जनतासमक्ष नपुगकाले पनि व्यवसायीक रुपमा बिकास हुन नसकेको भनाइ छ कलाकार मदन चित्रकारको । ‘आर्टिस्टले पनि अनन्याचुरल प्राइसिङ गर्ने गरेकाले पनि पेन्टिङलाई जनतासमक्ष पुर्याउन गाह्रो भएको छ । ’ उनी थप्छन्– ‘अर्को कारण भनेको कलाको अभ्यासलाई पब्लिक लेभलसम्म पुर्याउन प्लेटफर्म नभएर पनि हो ।’
एकातिर महंगो मुल्य, अर्को तिर मौलिकता नभेटिनु । यसले गर्दा पनि नेपाली श्रृजनाले मुलुकको सिमा बाहिर प्रभाव जमाउन सकेको छैन । कला अध्यता सुरेन्द्रमान शाक्य नेपाली कलामा नेपालीपन र स्वाभिमानको अभाव रहेको औंल्याउछन् । उनी भन्छन–‘हामीले आर्टवाट अरुमा भएका विकासलाई सिक्यौ अब हामीले यहाँ गर्न सक्ने योगदान के भन्ने बारे सिक्नु पर्छ, नेपालीपन र स्वाभिमान पनि देखाउन सकौ भन्ने मेरो कामना हो ।’
कलाकारले मौलिकता अंगाल्ने र सरोकारवाला निकायले ध्यान दिन सके नेपालमा संख्यात्मक रुपमा बढदै गएको चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने धेरैलाई लागेको छ । कतिपय कलाकारले मुूलुक वाहिर पनि आफ्नो कलाबाट धेरैको मन जितिसकेका छन । अन्तर्राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाएका चित्रकार अजय देसार कलाकारको काम श्रृजना र त्यसले उपयुक्त बजार पाओस भन्ने चाहना राख्ने बताउछन् । ‘कलाकारको काम श्रृजना गर्ने हो र उसको श्रृजनाले राम्रो मार्केट पाओस् भन्ने उसको चाहना पनि हुन्छ ।’ उनी थप्छन्–‘सरकारले राम्रो प्लेटफर्म दिने हो भने अझै राम्रा राम्रा कलाकार आउन सक्छन् । अरनिकोको पालामा जस्तो विदेशमा राम्रो अवसर पनि आउन सक्छ ।’
विभिन्न चुनौतीका बीच पनि नेपाली चित्रकला पछिल्लो समय व्यवसायिक हुने बाटोमा अघि बढेको छ । चित्रकारले अरुको भन्दा पनि आफ्नै मौलिकता र जनता समक्ष सहज र सुलभ पहुँचका लागि पहल गर्नु पर्ने आवश्यकता देखिन्छ । साथै कला र कलाकारलाई मुलुकको गहनामा रुपमा अंगिकार गर्ने सरकारले पनि यसको बृहत्तर विकासका लागि क्रियाशिल हुनैपर्छ ।
- See more at: http://radiokantipur.org/kantipur-diary/11211/%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%B2%E0%A4%BE/#sthash.NwokrI3G.dpuf
|