Thursday, 06.26.2025, 4:38 PMMain | Registration | Login

Site menu

Login form

Main » 2014 » April » 25 » समाजमा लुकेका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार
5:41 AM
समाजमा लुकेका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार

http://nayakhabar.com/

Naya Khabar 

समाजमा लुकेका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार

काठमाडौँ, १० वैशाख । समाजमा महत्वपूर्ण भूमिका खेलिरहेका तर सार्वजनिक पहिचान बनाउन नसकेका पात्रलाई अगाडि ल्याउनमा कलाकार अजय देसार एक महिने चित्रकला प्रदर्शनीमा सफल भएका छन् । उपत्यका भित्रका नेवार समुदायले मनाउने विभिन्न खालका जात्रामा प्रयोग हुने सामग्री हुन् वा जात्रामा मनाउने व्यक्ति उनको चित्रकलाको पात्र भएका छन् ।

नेवार समुदायका कुनै पनि जात्रा दीप प्रज्वलन नगरी सुरु हुदैन । त्यो दीपलाई प्रज्वलन गर्ने व्यक्ति पनि अत्यन्त महत्वपूर्ण मानिन्छ तर जात्राको मुख्य आकर्षणको केन्द्रबिन्दु खट र पूजा हुने भएकाले ती व्यक्ति सधैँ बेवास्तामा पर्ने गर्छन् । जसका कारण उनी कहिल्यै पनि सार्वजनिक रुपमा चिनिन सकेका हुँदैनन् ।

यसपटक कलाकार देसारको मुख्य पात्र तिनै व्यक्ति भएका छन् । ती व्यक्तिले दीप प्रज्वलन नगरी जात्रा सुरु पनि नहुने र उनले दीपलाई निभाएपछि मात्र जात्रा समापन हुने भएकाले पनि ती व्यक्ति जात्राको नायक हुन् । उनले तिनै नायकलाई लिएर बनाएका चित्रकलाको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मल मुड्स स्टुडियोमा प्रदर्शनी गरिएको छ । एक महिनासम्म चल्ने सो प्रदर्शनीमा कलाकार देसारका तेल रङ्गमा तयार पारिएका १० वटा चित्र छन् ।

नेपालमा अँध्यारोलाई केन्द्र बनाएर चित्रकारिता गरिएका कलाकृति त्यति पाइँदैनन् तर यस प्रदर्शनीमा देसारले सानो आगोको झिल्कोले देखापर्ने आकृतिलाईसमेत निकै कलात्मक तरिकाले क्यानभासमा कैद गरेका छन् ।

अँध्यारोमा उज्यालो रङ्गले चित्रलाई अझ रोमाञ्चक बनाइदिएको छ । चित्रकलामा अलिकति पश्चिमा शैलीको प्रभाव र नेपाली परम्परा र शैलीको मिश्रणले चित्रलाई सजीवता प्रदान गरेको छ ।

विसं २०३९ मा ललितपुरको चापागाउँमा जन्मिएका देसारले चित्रकलाको औपचारिक शिक्षा ललितकला क्याम्पसमा लिएका हुन् । सानैदेखि चित्रकलामा अत्यन्त रुचि भएका देसार विद्यालयस्तरदेखि नै भूदृष्य (ल्यान्डस्केप)का चित्र कोर्ने गर्दथे । किशोरावस्थामा ललितपुरका विभिन्न गाउँमा घुमेर चित्र बनाउँदाको अनुभव उनको असाध्यै तीतो रह्यो । चित्रकलाको खासै विकास हुन नसकेको स्थितिमा त्यसरी गाउँमा जाँदा धेरै पटक पिटाइसमेत खाएका छन् उनले ।

विद्युत् प्राधिकरणको लाइनबाट गाउँलेले विद्युत् चोरी गरेर घरमा बत्ति बाल्ने गरेका थिए । त्यसरी उनीहरूको घर गाउँमा नै गएर चित्र कोर्दा कतै त्यो चित्र लगेर प्राधिकरणमा त दिने हैन भन्ने शङ्काले त्यहाँ मानिसहरूले आफूलाई लखेट्ने र पिट्ने गरेको उनी स्मरण गर्दछन् ।

करिब १४ वर्षअघि उनले बनाएको चित्र मन पराएका एक व्यक्तिले चित्र किन्न आफूसँग पैसा छैन भनेपछि उनले एक मोहरमासमेत चित्र बेचिदिए । त्यसपछि मलाई आफूले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी नै रहेछ भन्ने महसुस भयो– उनी बताउँछन् । चित्रकलामा नै एकोहोरिन थालेपछि उनले आफ्ना नजिकका साथीहरूको साथ पनि गुमाउन पुगे । किनकि उनीसँग साथीहरूलाई दिने समय थिएन । करिब पाँच वर्षअघि उनी बेलायतमा चित्रकला अध्ययनका लागि गए ।

त्यहाँ उनको भेट वरिष्ठ चित्रकारहरूसँग हुन पुग्यो जसका कारण उनको क्षमता अझै वृद्धि भयो । त्यहाँ उनले तीन वर्ष बिताउँदा बेलायतको राष्ट्रिय कला प्रदर्शनीमा भाग लिने अवसरसमेत पाए । यसका साथै अन्य चार वटा एकल चित्रकला प्रदर्शनीसमेत गर्न भ्याए । त्यसबाट आएको पैसाले उनले नेपालका विभिन्न गाउँमा कलाको विकास गर्न खर्चिए ।

हाल ललितपुरको सौगलस्थित योङ् पिकासो सामुदायिक कला विद्यालयमार्फत् बालबालिकादेखि वृद्धसम्मलाई आफूमा भएको कलासम्बन्धी ज्ञान बाँड्नमा व्यस्त छन् । विद्यालयस्तरका पाठ्यक्रममा नै कलालाई स्थान दिनुपर्ने बताउँदै उनी भन्छन्– “बालबालिकामा कलाको विकास गर्नु भनेकै उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो, त्यसैले यो आवश्यक छ ।”

Views: 644 | Added by: Ajay | Rating: 0.0/0
Total comments: 0
Only registered users can add comments.
[ Registration | Login ]
Copyright Ajaya Deshar © 2025 | Create a free website with uCoz